गोदामचौर बलात्कारमा तीन जना दोषी, १० वर्ष कैद सजाय

ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार काण्डमा तीन जनालाई दोषी ठहर गरेको छ।

ललितपुर गोदावरी १ गोदामचौरकी २२ वर्षीया सुस्मीता (नाम परिवर्तन)लाई सामुहिक बलात्कार गरेको भन्दै जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार गोदामचौरकै रघु सिलवाल, पवन कुँवर र विशालध्वज कार्कीलाई जनही १० वर्षको कैद सजाय सुनाएको हो। 

उनीहरूले पिडितलाई जनही १ लाखका दरले तीन लाख क्षतिपुर्ति भर्नुपर्ने पनि जिल्ला अदालतले फैसला गरेको छ। 

पिडितले गरेको सनाखत कागज र अनुसन्धान र अदालतमा यी तिनैजना व्यक्ति विरूद्ध दिएको किटानी कागजलाई आधार मान्दै जिल्ला अदालतले उनीहरूलाई कैद सजाय गरेको हो। 

बलात्कारमा परेकी सुस्मीता घटनाको पर्सिपल्ट बाटोमा बेहोस भेटिएकी थिइन्। उनले प्रहरी र अदालतसमक्ष सिलवाल, कुँवर र कार्की ले नै आफूमाथि बलात्कार गरेको भनि सनाखत गरेकी थिइन्। अदालतले उनले गरेको सनाखत कागज र वकपत्रलाई नै प्रमाण मानेको छ। 

उनीहरूले सुस्मीतालाई बलत्कार गरेकोमा पाँच र  सामुहिक बलात्कार गरेकोमा अर्को पाँच गरि १० वर्ष कैद हुने फैसलामा उल्लेख छ। 

त्यस्तै बलात्कारपछि सुस्मीतालाई हत्या गर्न कोसिस गरेको भन्दै अदालतले ज्यानमार्ने उद्योगमा पनि दोषी ठहर गर्दै उनीहरूलाई जनही १०/१० वर्षको कैद सजाय गरेको छ। 

त्यस्तै उनलाई बलात्कार गरेपछि उनको साथबाट ३ हजार रूपैँया चोरेर लगेका ले जबरजस्ती चोरी गरेको ठहर अदालतको छ। जसमा उनीहरू ६० दिन कैद बस्नुपर्ने छ। र चोरी भएको ३ हजार पनि तीनजनाले तीर्नुपर्ने छ। घटना भएको १५ महिनापछि अदालतले दोषीलाई कैद सजाय सुनाएको हो। धेरै कसुरमा कैद गरेको भएपनि उनीहरू १० वर्षमात्रै जेल बसे पुग्छ। धेरै कसुरमा कैद तोकीएको भएपनि जुनमा धेरै वर्ष कैद छ त्यही मात्र लागु हुने उल्लेख छ। 

२०७४ साल मंसिर २ गते माइत गएकी सुस्मीता त्यतैबाट अफिस गइ गोदामचौरस्थित घर फर्किँदै गर्दा  बलात्कारमा परेकी थिइन्।  

के थियो घटना?

ललितपुर गोदावरी–१ गोदामचौरकी २२ वर्षीया सुस्मिता (नाम परिवर्तन) सामूहिक बलात्कारको चोट खपेर न्यायका निम्ति १५ महिना लडेकी थिइन्।

सुस्मिताका श्रीमान र ससुरा एउटा सोलार कम्पनीमा काम गर्थे। सबैजना कम्पनीको क्वाटरमा बस्दै आएका थिए। उनी भने लगनखेलको एउटा डेरीमा काम गर्थिन्। सुखैले जीवन बिताइरहेको यो परिवारमा गत वर्ष मंसिर २ गते अन्धकार भित्रियो।

सुस्मिता बिहीबार माइत हिँडेकी थिइन्। शुक्रबार उनी काम गर्ने डेरीमा बिदा। मंसिर २ गते शनिबार लुभुस्थित माइतबाट सिधै डेरी गइन्।

साँझ घर फर्किँदै थिइन्। सासूले फोन गर्दा ‘आउँदैछु’ भनेकी थिइन्।

साँझ ६ बजेर २० मिनेटमा श्रीमानले फोन गर्दा उठेन।

श्रीमानलाई छटपटी भयो। झट्टै घरमा सुनाए।

‘घर आउँदैछु’ भनेकी उनी बीचमै कता हराइन्? साँझपख केहीबेरमै सुस्मिता बेखबर बनेपछि वातावरण बिथोलियो। परिवार तनावमा पर्यो।

सुस्मिता खोज्न ससुरा र नन्द ज्वाइँ निस्किए। गोदावरी खोलाको पुल तरेर पारि पुगे। टौखेलसम्म पुगे। तर, बुहारी भेटिइनन्।

टौखेल चोकमा खटिएका दुई-तीन जना प्रहरीलाई हुलिया बताए। उनीहरूले भने, ‘भोलि १० बजे फोटो लिएर कार्यालय आउनू।’

घर फर्के। श्रीमान् पनि आए। सुस्मिताको पत्तो कसैले भेटेन। रात तनावमै बित्यो। कोही निदाएनन्। भोलिपल्ट झिसमिसै सुस्मिताको खोजीमा परिवार निस्कियो।

खोज्दै जाँदा बिहान ७ बजे अलि टाढाबाट पुलमुनि मुढोजस्तो ‘केही चिज’ देखियो।

तर त्यो मुढो थिएन। सुस्मिता नै लाशजस्तो भएर ढलिरहेकी थिइन्।

टाउकोबाट बगेको रगत सुकेर कट्कटाएको थियो। मुखभरि रगत। दाहिने हात भाँचिएको। दाहिने कान च्यातिएको। कम्मरमुनि लुगा थिएन। वरपरको जमिन मडारिएको। घटनास्थलका यी सबै प्रकृतिले ‘सामूहिक बलात्कार’को जनाउ दिन्थे।

मंसिरको दोस्रो रात। जाडो छिप्पिएको मौसममा रातभर ढल्दा सुस्मिताको शरीर कठ्यांग्रिसकेको थियो। जिउँदो या प्राणबिहीन भन्ने पनि यकिन थिएन।

आत्तिँदै परिवारले सुस्मितालाई लिएर घर आए। यतिबेलासम्म प्रहरी घरमै आइपुगेको थियो। प्रहरीकै भ्यानमा पाटन अस्पताल लगियो। ढुकढुकी बाँकी रहेछ। अत्यन्त चिन्ताजनक अवस्था भएकाले अस्पतालले अन्यत्रै लैजान सुझायो। सकभर न्युरो अस्पताल लैजान डाक्टरले भनेका थिए। गोजीमा पैसा नभएको परिवारले निजी अस्पताल ताक्न सकेन। प्रहरीसँगको सल्लाहमा टिचिङ अस्पताल पुर्याए।

टाउकाको एक ठाउँमा ३२ टाँका लगाइयो। अर्को ठाउँमा सात टाँका। भाँचिएको हात प्लास्टर गरियो। च्यातिएको कान सिलाइयो।

सुस्मिताको होस भने सात दिनपछि मात्र खुल्यो। उनले बलात्कारीहरू सम्झिँदै बर्बराइन्– आफ्नै गाउँठाउँका रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर।

उनको यही किटानी बोलीका आधारमा सातदोबाटो प्रहरीले आरोपी पक्रियो। जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा चलायो।

तर, जिल्ला अदालत ललितपुरले पुस २६ गते ‘पर्याप्त प्रमाण नभेटिएको’ भन्दै साधारण तारेखमा छोडिदियो। अस्पतालबाट डिस्चार्ज भएर घरमा आराम गरिरहेकी सुस्मिताका शरीरका घाउहरू सुक्दै थिए। पूरा परिवार न्यायको आशमा थियो। अदालतको आदेशले न्याय त परको कुरा, घाउमा झनै नुन छर्किदियो।

सासू इन्दिराका अनुसार प्रतिवादीहरू छुटेपछि गाउँमा बसिसक्नु भएन। पीडक पक्षले ‘हाम्रा छोरा–चेलालाई बलात्कारी आरोप लगाई थुनेको’ भनेर तर्साउन थाले।

‘यताउता, घरगाउँ डुल्दा पीडकहरू आँखा तरेर हेर्थे,’ इन्दिराले सेतोपाटीसँग भनेकी थिइन्, ‘पीडक परिवारले यस्तो जघन्य अपराधविरूद्ध बोल्नुको सट्टा ‘हिसाब–किताब’ हुन्छ भन्न थालेपछि म अधैर्य हुन थालेँ। पीडकहरू खुलमखुल्ला भए। कहिले तिमीहरू र छोरालाई पनि मारिदिन्छौं भन्दै धम्की सन्देश गाउँलेमार्फत पठाउन थाले। यस्तो परिस्थितिमा मैले बुहारीलाई घरमा राख्न सकिनँ।’

सुस्मितालाई माइत लुभु पठाइदिइन्। छोरालाई पनि उतै बस्न भनिन्।

‘यत्रो बीस–पच्चीस वर्ष यही समाजसँग मिलेर बसेका थियौं। मेरा श्रीमानले समाजमा कुनै काम पर्दा भ्याइनँ भन्नुभएको थिएन,’ इन्दिराले भनिन्, ‘यो घटना भएपछि त गाउँले छिमेकीले हेर्ने दृष्टिकोण नै बदले।’

इन्दिरा र उनका श्रीमान डराउँदै बस्थे। घर बाहिर–भित्र गर्दा होस् पुर्याउँथे। एक महिना यसरी नै बित्यो।

अर्को महिना माघ २५ गते उच्च अदालत पाटनले मुद्दा उल्टायो। जिल्ला अदालतको आदेश ‘बेरित’को ठहर गर्दै उच्च अदालतले पीडकहरूलाई थुनामै राख्ने आदेश दियो। यो आदेशसँगै पीडकहरू फरार भए।

उनीहरूमध्ये दुई जनालाई गत मंसिर २६ गते प्रहरीले पक्राउ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here