बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो ३५ जना बेपत्ता

काठमाडौं : अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ।  प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार २१ महिला र २७ पुरुषको बाढी पहिरोमा परी ज्यान गएको हो। शनिबार बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म ३५ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार एक हजार १०४ जनाको उद्धार भएको छ। 

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश  १ मा १७, प्रदेश २ मा सात, प्रदेश ३ मा १२, प्रदेश ५ र ६ मा दुई­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ४८ जनाको ज्यान गएको छ। उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन्। प्रदेश  १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक­एक जनाको ज्यान गएको छ।

प्रदेश  २ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट, सिरहामा एक­एक गरी सात जनाको मृत्यु भएको छ। प्रदेश न–३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन­तीन, सिन्धुली र धादिङमा दुई­दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै प्रदेश ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ।बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन्। प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक­एक जना बेपत्ता छन्। प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here