कोरोनाभाइरस (कोभिड १९)को संक्रमण हुन नदिन लकडाउन गरेको सरकारले गत चैत महिनाको घर भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको थियो । सरकारको पछिल्लो निर्णयअनुसार गत चैत ११ गतेदेखि गरिएको लकडाउनको समयावधि यही वैशाख २५ गतेसम्म रहेको थियो ।
तर, सरकारले यसअघि नै घरधनीहरुलाई असंगठित श्रमिकहरुको चैत महिनाको घर भाडा नलिन आग्रह गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब घरभाडा मिनाहा गरे नगरेको अनुगमन स्थानीय तहले गर्ने भएको छ ।
साथै असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपछि घरभाडा बुझाउन पाउने सुविधा पनि सरकारले दिएको छ । घर भाडा नलिएका घरधनीहरुलाई सो महिनाको घरबाहल कर र आयकर छुट दिने निर्णय गरेको सरकारले कर भाडा लिए नलिएको अनुगमन गर्न स्थानीय तहलाई अनुगमन गर्न निर्देशन दिने निर्णय गरेको थियो ।