काठमाडौं । बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ । यस्तै चट्याङको कारण रौतहटको एक घरमा लाखौँको क्षती भएको छ ।
बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका –१२ शीतलपुर र फेटा गाँउपालिका–१ मा गरी ४ जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी बारा प्रहरीले बताएको छ ।
त्यसैगरी फेटा गाँउमा एउटा घरमा चटाङ लग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको घटानस्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । चटाङ लागेर घाइते भएका फेँटाका ५ जनाको कलैया अस्पताल उपचार हुँदै छ ।
आज बिहान ८ बजे नै रौतहटको कटहरिया ५ बजारमै एउटा घरमा चट्याङ लाग्दा लाखौँ बराबरको क्षति भएको छ । स्थानीय कृपाशंकर यादवको घरमा चट्याङ लागेर घरमा रहेको एकथान एलिडि टिभी, कम्प्युटर, राउटरलगायत लाखौँ बराबरको सामान पूर्णरुपमा क्षति भएको पीडित यादवले बताएका छन् ।