थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अलमुताइरीले गरे सम्झौता

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन्।

प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन्।

प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको बताएका हुन्।

यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए।

यद्यपी साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल भने खेलाउन पाएनन्। 

साफको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो।

२८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाल उपविजेतामै सीमित बनेको थियो। फाइनलमा नेपाललाई भारतले ३-० ले पराजित गरेको थियो। 

फाइनलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए। यद्यपी उनी अहिले कतारमै रहेको एन्फा अध्यक्ष शेर्पाले बताए। 

फाइनलपछि उनले दिएको अन्तर्वार्तामा दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए।

अलमुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। त्यही बेला एन्फाले उनीसँग एक वर्षको सम्झौता भएको बताएको थियो। 

तरअलमुताइरी नेपालसँगको सम्झौता यही महिना सकिने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। 

अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षण गर्न गत वर्ष पठाएको थियो। 

नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिने एन्फाको भनाइ छ। एन्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here