काठमाडौं, २६ बैशाख । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार राति भएको इलिमिनेटर राउण्डमा दिल्लीले सनराइजर्स हैदरावादलाई दुई विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । १६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ थालेको दिल्लीले एक बल बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य भेटायो ।
दिल्लीको जितमा पृथ्वी शाले ५६ रन बनाए । उनले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, दिल्लीलाई जिताउन रिषव पन्तले उत्कृष्ट प्रदर्शन गरे । उनले ४९ रन बनाए । २१ बलको सामना गरेका उनले ५ छक्का र दुई चौका प्रहार गरेका थिए । त्यस्तै, शिखर धवनले १७ रन बनाउँदा कोलिन मुनरोले १४ रन बनाएका थिए । हैदरावादका खलिल अहमद र राशिद खानले समान २–२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । हैदरावादका लागि मार्टिन गुप्टिलले ३६, मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सनले २८ रन बनाएका थिए ।
अब फाइनल प्रवेशका लागि दिल्ली दोस्रो क्वालिफायरमा चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नाई र दिल्लीको खेल भोली (शुक्रबार) हुनेछ । यी दुई टिमबीचको विजेताले फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध उपाधिका लागि खेल्नेछ ।