काठमाडौं, २९ भदौं । इङ्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले अप्रत्यासित पराजय ब्यहोरेको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोरिच सिटीले पाहुना टोली म्यानचेस्टर सिटीलाई ३–२ गोलले स्तब्ध पारेको हो ।
सिटीका लागि नयाँ सिजनमा पाँचौं खेलमा पहिलो पराजय हो । नोरिजका लागि भने पाँचौं खेलमा दोस्रो जित हो । खेलको १८ औं मिनेटमै किन्नी म्याकलीनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली नोरिचले त्यसको १० मिनेटपछि अर्को गोल थप्यो । यसपल्ट टड क्यान्टवेलले गोल गरेका थिए ।
सर्जियो एग्यूरोले ४५ औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा नोरिचले २(१ को अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुमै नोरिचले ३–१ को अग्रता बनायो । तिमू पुक्कीले गोल गरेका थिए ।
८८ औं मिनेटमा गाव्रियल जेससको पासमा रोड्रि अर्नान्डेजले गोल गरी खेलमा फर्काउने प्रयास गरे पनि ढिला भइसकेको थियो । अग्रता बनाएपछि रक्षात्मक रणनीति लिएको नोरिचबिरुद्ध बल पोजिसन हासिल गरे पनि सिटीले आवश्यक गोल गर्न सकेन ।