पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करण अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनले हराउँदै पहिलो जित निकालेको छ । टस हारेर व्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउदै १८५ रनको विशाल योगफल तयार पारेको थियो । बाक्लो हुस्सुका कारण टसमा ढिलाइ हुँदा खेल १७ ओभरमा झारिएको हो । काठमाडौंकालागि कप्तान ज्ञानेन्द्र मल्लले विस्फोटक शतकीय पारी खेले ।
उनले ३८ बलको सामना गर्दै ८ चौका तथा ९ छक्काको मदतमा १०० रन प्रहार गरे । पिपिएलको यो संस्करणमा यो पहिलो शतक हो । त्यस्तै, जयकिसन कोल्सावालले ४६ तथा अमित श्रेष्ठले ३४ रन प्रहार गरे । गौरव तोमर, पवन सरार्फ तथा आदिल रासीदले कुनै रन बनाउन सकेनन । धनगढीका लागि कमलसिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट हात पारे ।
१८६ रनको विशाल लक्ष्य पछ्याएको धनगढी १६ ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रनमा समेटियो । धनगढीका लागि श्रीमन्था विजयरत्नेले १५ , रोड्रिगो थोमसले १०, विक्रम ठगुन्ना तथा सौरभ खनालले समान ९, कप्तान दिपेन्द्रसिंह ऐरीले ८, सन्दिप जोराले ७, सागर ढकालले ६, अमित यादबले ३, कमलसिंह ऐरीले २, अनिल खरेलले १ रनको योगदान दिए भने सन्दिप सुनारले कुनै पनि रन बनाउन सकेनन् ।
काठमाडौका लागि बसन्त रेग्मीले ३ पवन सरार्फ तथा सुवोध भाटीले समान २ तथा अमृत भट्टराई तथा सुशन भारीले समान १ विकेट हात पारे ।खेलमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित भए । काठमाडौं यसअघि पोखरा पल्टनसँग ९ विकेटले तथा बुटवल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो ।