
शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले अपराजित रहँदै पोखरा प्रिमियर लिग (पिपिएल) दोस्रो संस्करणको च्याम्पियन बनेकाे छ।
लिग चरणबाट सतप्रतिशत नतिजासहित सोझै फाइनलमा पुगेकाे चितवनले रोहन मुस्ताफा र अनिल कुमार साहको अर्धशतकीय मद्दतमा २ सय २ रनको योगफल बनाएको थियो।
२ सय ३ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो।
ओपनर मुहम्मद जहिद आलमले ५७ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई उपाधि दिलाउन पर्याप्त भएन। आलमले ४८ बलकाे सामना गर्दा ५ चाैका र ३ छक्का प्रहार गरेका थिए।
त्यस्तै २५ बलमा ३ चाैका १ छक्कासहित कप्तान प्रदिपसिंह ऐरीले ३६ रन बनाए। उनी करण केसीको बलमा आरिफ शेखको हातबाट क्याच आउट भएका थिए।
नोमन खान १८ बलमा १८ रन बनाएर रन आउट हुँदा ओपनर सुनिल धमला ४ तथा लोकेश बम १ रनमा पभेलियन फर्केका थिए।
१३ बलमा २ चाैका र ३ छक्का प्रहार गरेका पुनित मेहरा ३२ रन बनाएर आउट हुँदा दिलिप नाथ खाता खोल्न नपाउँदै करण केसीको बलमा बाबर हायातको बलमा क्याच आउट भए।
पुष्प थापा ३ तथा जितेन्द्र मुखिया ७ रनमा अविजित रहे। चितवनका लागि करण केसीले सर्वाधिक ३, सन्नी पटेलले २ तथा रोहन मुस्ताफाले १ विकेट लिए।
पहिलो इनिङमा चितवनका लागि चाैथो ब्याट्सम्यानका लागि ब्याटिङ गर्न आएका अनिलले ३३ बलमा ३ चाैका र ३ छक्का प्रहार गर्दै १५औं ओभरको पाँचाैँ बलमा ५० रन पूरा गरेका थिए।
त्यस्तै ४३ बलमा ३ चाैका र १ छक्कासहित ५० रन पूरा गरेका ओपनर रोहन मुस्ताफा पुनित मेहराको बलमा नोमन खानकाे हातबाट क्या आउट भए।
चितवनका लागि ओपनिङमा आएका कप्तान पारस खड्का ११ बलमा ४ चौका र १ छक्कासहित १५ रन बनाएर किशोर महतोको बलमा नोमन खानको हातबाट क्याच आउट भए।
पारस आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बाबर हाहात ५ बलमा १ चौकासहित ५ रनमा पभेलियन फर्किएका थिए। बाबर मुहम्मद जहिद आलमको बलमा बोल्ड आउट भएका थिए।
आरिफ शेख १९ रन बनाएर पभेलियन फर्किँदा समान ८ बल खेलका सन्नी पटेल १६ तथा करण केसी २६ रनमा अविजित रहे।
विराटनगरका लागि पुनित मेहरा र मुहम्मद जहिद आलमले २/२ तथा किशोर महतोले १ विकेट लिए।
पहिलो खेलमा साबिक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरमा पराजित गरेको थियो।
राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नेतृत्वको चितवनले तेस्रो खेलमा धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको थियो भने चौथो खेलमा विराटनगरलाई १८ रन तथा पाँचौँ खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले हराएको थियो।
प्रतियोगितामा अपराजित रहेको चितवनले खेलेका समूह चरणका अन्य खेलको तुलनामा विराटनगर कम अन्तरले पराजित भएको थियो।
यद्यपि, उत्तरचढाबपूर्ण यात्रा गरेको विराटनगरले रोमाचक रूपमा फाइनल यात्रा तय गरेको हो। पहिलो खेलमा धनगढी ब्लुजसँग ५ रनको झिनोअन्तरले पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेको विराटनगरले दोस्रो खेलमा पोखरालाई ४५ रनले हरायो।
तेस्रो खेलमा काठमाडौं गोल्डेन वारियर्ससँग ३६ रनले हारेको विराटनगर चौथो खेलमा चितवनसँग १८ रनले हारको थियो।
लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गरेको विराटनगरले प्ले अफमा पनि उही बुटवलमाथि २१ रनको जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो।
अन्य टोलीहरू धनगढी र काठमाडौं गोल्डेनको समान ४ अंक भए पनि नेट रनरेटमा विराटनगरले बाजी मारेको थियो।
गत सिजन लिग चरणबाटै बाहिरिएको प्रदिपसिंह ऐरीको कप्तानीमा रहेको विराटनगर पहिलो पटक फाइनलमा पुगेर उपविजेतामा सीमित भएको छ।
गत सिजनको फाइनलमा पोखरा पल्टनसँग पराजित भएको चितवन लगातार दोस्रो पटक फाइनलमा पुग्दै उपाधि उचाल्यो।