जनकपुर । युरोकपमा जर्मनी र पोर्चुगलबीच बहुप्रतिक्षित खेल आज हुँदैछ ।
नेपाली समय अनुसार आज राति पौने १० बजे यी दुई टिमबीच खेल हुन लागेको हो ।
अन्तिम १६ मा जाने सम्भावनालाई बलियो बनाउने भएकोले पनि दुवैका लागि यो खेल महत्वपूर्ण हुनेछ ।
पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो ।
तर, जर्मनी पहिलो खेलमा फ्रान्ससँग १–० गोलले पराजित भएको थियो ।
त्यसैले आजको खेलमा जर्मनीलाई जित्नैपर्ने दबाब छ । पोर्चुगलसँग हारे जर्मनीको अर्को चरण प्रवेशको सम्भावना कमजोर हुनेछ ।
जर्मनी र पोर्चुगलबीच अहिलेसम्मका १८ खेलमा १० खेल जर्मनीले जित्दा पोर्चुगलले ३ खेल जितेको छ । यी दुईबीच पाँच खेल बराबरी भएको छ ।