नयाँ दिल्ली — नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच सोमबार हैदराबाद हाउसमा भएको उच्चस्तरीय वार्तापछि फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारी क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद, भूउपग्रह सञ्चार, दिगो सहरी विकास र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।
समझदारीपत्रमध्ये फरेन्सिक विज्ञानसम्बन्धी शैक्षिक तथा अनुसन्धान सहकार्य भारतको गुजरातस्थित गान्धीनगरमा रहेको नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच भएको छ । त्यस्तै भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच प्रहरी तालिम तथा सुरक्षा सहकार्यसम्बन्धी समझदारी भएको छ ।
नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । स्वास्थ्य क्षेत्रमा भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीको प्रवर्द्धनका लागि दुई सरकारबीच छुट्टै समझदारी भएको छ । भूउपग्रह सञ्चारतर्फ दक्षिण एसिया स्याटेलाइटको उपयोग गरी स्याटकम सञ्जाल स्थापना गर्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच सम्झौता भएको छ ।
दिगो सहरी विकास तथा पूर्वाधारको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने र पशुपालन तथा मत्स्यपालन विकासमा संयुक्त रूपमा काम गर्ने विषयमा पनि दुई देशबीच समझदारीपत्र आदानप्रदान भएको छ ।
भ्रमणका क्रममा भारतले नेपाललाई कुल भारु १५ हजार करोड अर्थात् नेरु २४ हजार करोड बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसमध्ये रसुवा–भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि भारु ३ हजार ५०० करोड अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि भारु ११ हजार ५०० करोड सहुलियतपूर्ण ऋण रहेको छ ।
दुई प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको शुभारम्भ गरेका छन्। यो रेल सेवाले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।
साथै प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीकृत ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण अन्तिम रूप पाएको घोषणा गरिएको छ। नागरिक उड्डयनतर्फ हाल एकतर्फी रहेको काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् ।
भारतले नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब र भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) को अपतटीय क्याम्पस स्थापना गर्ने योजना पनि घोषणा गरेको छ। नेपाली विद्यार्थीका लागि भारतमा छात्रवृत्तिको अवसर विस्तार गरिने र चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्न सहयोग गरिने भएको छ ।
