Wednesday, २५ November २०२६
ब्रेकिङ
हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधिपार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेलजनकपुर विमानस्थल विस्तार परियोजना स्वीकृत, अन्तर्राष्ट्रिय उडान सुरु हुनेजनकपुरमा डेंगु संक्रमणको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कता
अन्तर्राष्ट्रिय ब्रेकिङ

हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना

काठमाडौँ, मङ्सिर ९ गते । अत्यन्तै जोखिममा रहेका नेपालका चार वटा हिमतालको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले ग्लफ सञ्जिवनी आयोजना सुरु गरेको छ । 

ग्रिन क्लाइमेट फण्डको आर्थिक सहयोगमा जोखिमका रहेका चार वटा तालको जोखिम न्यूनीकरणसँगै हिमाली समुदायहरूलाई हिमनदीजन्य बाढीको जोखिमबाट जोगाउन नेपालद्वारा ४ करोड ९९ लाख ४० हजार अमेरिकी डलरको आयोजनाको बुधबार शुभारम्भ गरिएको छ । 

उच्च जोखिममा रहेका चार वटा हिमताल डोना, लुमडिङ त्सो, होङ्गु र तल्लो बरुणमा रहेको पानी सतह घटाउने काम सो आयोजनाले गर्ने भएको छ । मनाङको नासो गाउँपालिकामा रहेको डोना हिमताल, सोलुखुम्बुमा रहेको लुमडिङ त्सो र होङ्गु हिमतालको पानी तीन/तीन मिटर घटाउने र सङ्खुवासभामा रहेको तल्लो बरुण हिमतालको पानी एक मिटर घटाउने काम आयोजना गर्ने भएको शुभारम्भ कार्यक्रममा जानकारी दिइयो । 

उच्च जोखिमका रहेका हिमतालबाट प्रभावित हुने तल्लो तटीय क्षेत्रका तीन लाख ८५ हजारभन्दा बढी स्थानीयको जीवन रक्षाका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा ग्लोफ सञ्जीवनी आयोजना सुरु गरिएको हो । नेपाल सरकारले यस अघि पनि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमसँगको सहकार्यमा इम्जा र च्छोरोल्पा हिमतालको जोखिम न्यूनीकरण गर्ने काम सम्पन्न गरिसकेको छ । ती तालको तीन मिटर पानीको सतह घटाइ तल्लो तटीय क्षेत्रमा पूर्व सूचना प्रणाली विकास गरिएको छ । 

आयोजनाले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका हिमाली समुदायहरूलाई हिमताल फुट्दा हुन सक्ने सम्भावित क्षति, हानी र नोक्सानीबाट बचाउने उद्देश्यले आयोजना सुरु गरेको आयोजनाका राष्ट्रिय निर्देशक डा. राजन भट्टराईले जानकारी दिनुभयो । 

शुभारम्भ कार्यक्रममा ग्रिन क्लाइमेट फन्डबाट तीन करोड ६१ लाख ६० हजार अमेरिकी डलर अनुदान प्राप्त भएको जानकारी उहाँले दिनुभयो । आयोजना सञ्चालनका लागि नेपाल सरकारबाट एक करोड १३ लाख २० हजार अमेरिकी डलर, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपि) बाट २१ लाख ४० हजार अमेरिकी डलर र निजी क्षेत्रका साझेदारहरूबाट तीन लाख २० हजार अमेरिकी डलर सहलगानी जुटाइएको जानकारी दिइयो । आयोजना सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने जानकारी संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम जलवायु विशेषज्ञ दिपक केशीले दिनुभयो । 

आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने तीन लाख ८५ हजारभन्दा बढी स्थानीय व्यक्ति मध्ये ५५ प्रतिशत महिला हुने छन् । जोखिमका रहेका चार वटा तालका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब २० लाख घरपरिवार सुरक्षित हुने अपेक्षा गरिएको छ । 

सो आयोजना ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मार्फत कार्यान्वयन हुने भएको छ । आयोजनाको सम्पन्न गर्नुपर्ने कामहरु धेरै निकायका कामसँग सम्बन्धित भएकाले सो केन्द्रका साथसाथै कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको चुरे तथा अति संवेदनशील जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि सहकार्य हुने भएको छ ।  त्यस बाहेक कतिपय कामहरु नेपाल पर्यटन बोर्ड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मार्फत हुने डा. भट्टराईले जानकारी दिनुभयो । आयोजना कार्यान्वायनमा सङ्घीय सरकारका निकाय, प्रदेश सरकार र स्थानीय तहको प्रत्यक्ष सहभागिता रहने छ ।

ट्याग: #स्वास्थ्य

प्रतिक्रिया दिनुहोस्