तनहुँ, मङ्सिर ६ गते । ‘सुनकै भाउ छ सुन्तला भारीको । चाखी जानु भन्ने मन टाढी गो…।।’
भूपाल राईको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत र कुन्ती मोक्तानको स्वरमा रहेको यो गीत तनहुँका सुन्तला किसान र उपभोक्ताको जीवनसँग ठ्याक्कै मेल खान थालेको छ । कुनै समय घरआँगनको शोभा बढाउन, आफैँ खान र आफन्तलाई कोसेली पठाउन मात्र सीमित सुन्तला अहिले किसानका लागि ‘सुन फल्ने बोट’ बनेको छ ।
महँगो मूल्य पाउन थालेपछि सित्तैमा चखाउने चलन हराउँदै गएको छ भने व्यावसायिक खेतीबाट किसानहरू लखपति र करोडपति बन्न सफल भएका छन् ।

जिल्लामा सुन्तला बिक्रीबाट सबैभन्दा बढी कमाउनेमा म्याग्दे गाउँपालिका–२ उमाचोकका दाजुभाइ विश्वबहादुर अधिकारी र निर्मल अधिकारी अग्रपङ्क्तिमा हुनुहुन्छ । साविक जिल्ला विकास समितिका दुई पटकका सभापति विश्वबहादुर राजनीतिमा निष्क्रिय भई सुन्तला खेतीमा रमाइरहनुभएको छ ।
भाइ निर्मलसँग मिलेर ८५ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचाबाट अधिकारी दाजुभाइले वार्षिक एक करोड रुपियाँ कमाउनुहुन्छ ।
उमाचोक सुन्तला ब्लक क्षेत्रका पूर्व अध्यक्षसमेत रहनुभएका निर्मलबहादुर अधिकारीका अनुसार अहिले गाउँका बगैँचामा सुन्तला ठेकेदारले किनिसकेका छन् । “चखाउनका लागि कसैले राख्दैनन्, सुन जस्तै महँगो भएकाले सबैलाई बिक्री गरेर गोजी भर्ने ध्यान छ,” अधिकारीले भन्नुभयो, “ठेकदार बगैँचामै आएर टिप्ने भएकाले अब त खान मन लागे बजारमै किन्न जानुपर्छ ।”
