काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्धको शून्य सहनशीलता नीतिलाई व्यवहारमा कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले लैङ्गिक हिंसालाई मानवअधिकारको गम्भीर उल्लंघन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौतीका रूपमा चित्रित गरेका छन्।
प्रधानमन्त्री शाहले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै परिवर्तनशील सन्दर्भमा डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखिएको बताएका छन्।
संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।
सरकारले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिला सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकता दिएको प्रधानमन्त्री शाहले बताए।
यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।
यसै वर्ष भदौ महिनामा भोटेकोशी–त्रिशुली नदी प्रणालीमा गएको बाढीले पुर्याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहन आग्रह गरेका छन्।
अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आमनागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनले आह्वान गरेका छन्।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि बुधबारदेखि सुरु भएको हो। संयुक्त राष्ट्रसंघले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट होऔंः न्याय सुनिश्चित गरौं, पीडितको संरक्षण गरौं र दण्डहीनताको अन्त्य गरौं’ भन्ने अन्तरराष्ट्रिय नाराका साथ अभियान सञ्चालन गर्न आह्वान गरेको छ। नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ।
