काभ्रेपलाञ्चोक, मङ्सिर ९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –१०, राहुलडाँडामा निर्माण गर्ने तयारी गरिएको फिल्म सिटीको अवलोकन गर्नुभएको छ। बुधबार दिउँसो मन्त्री तिमल्सिनाले चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितलगायत स्थानीय जनप्रतिनिधिको उपस्थितिमा फिल्म सिटी निर्माणस्थलको अवलोकन गर्नुभएको हो।
अवलोकनका क्रममा मन्त्री तिमल्सिनाले फिल्म सिटी निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो। स्थानीय सामुदायिक वन उपभोक्ता समिति र स्थानीय बासिन्दाको सहमतिमा आयोजना निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
फिल्म सिटी निर्माणले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने मन्त्री तिमल्सिनाको भनाइ थियो। उहाँले निर्माण कार्यलाई छिटोभन्दा छिटो अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
यसअघि विभिन्न विवाद र मुद्दाका कारण अघि बढ्न नसकेको आयोजनासम्बन्धी मुद्दामा चलचित्र विकास बोर्डको पक्षमा अदालतबाट फैसला आएको र अब निर्माण प्रक्रिया तीव्र बनाइने बोर्डका अध्यक्ष मनिष पण्डितले बताउनुभयो।
त्यसैगरी, बनेपा नगरपालिका –१० का वडाध्यक्ष चन्द्रबहादुर खड्काले केही व्यक्तिको अवरोधका कारण विकास निर्माणका काम रोकिन नहुने बताउनुभयो। फिल्म सिटी निर्माण सम्पन्न गर्न सके समग्र काभ्रेपलाञ्चोक जिल्लाकै विकास र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।
