Wednesday, २५ November २०२६
ब्रेकिङ
हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधिपार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेलजनकपुर विमानस्थल विस्तार परियोजना स्वीकृत, अन्तर्राष्ट्रिय उडान सुरु हुनेजनकपुरमा डेंगु संक्रमणको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कता
राजनीति

रास्वपा सांसद अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्रा जनकपुरबाट सुरु, दैनिक ५ घण्टा हिँड्ने र ७ घण्टा जनताको कुरा सुन्ने

Image Via: Gorkhapatra

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। सोमबार बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरबाट रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गर्दै पदयात्राको शुभारम्भ गरेका हुन्।

पदयात्रा मेची नदीको किनारबाट सुरु भई आगामी माघ १ गते मकर संक्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर सम्पन्न हुने तालिका छ। सिंहका अनुसार यो पहिलो चरणको यात्रा हो र दोस्रो चरणअन्तर्गत आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पदयात्रा गरिनेछ।

सिंहले पदयात्राका क्रममा दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने योजना बनाएका छन्। प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने गाउँमा पुगेर स्थानीय बासिन्दासँग छलफल गर्ने र आसपासका बस्तीमा समेत पुगेर उनीहरूका समस्या तथा सुझाव संकलन गरिने उनले बताए।

पदयात्राको मुख्य उद्देश्य देशको भौगोलिक, जातीय, धार्मिक तथा सामाजिक विविधताबीच राष्ट्रिय एकता बलियो बनाउनु र जनताका वास्तविक समस्या प्रत्यक्ष रूपमा सुन्नु रहेको सिंहले बताए। उनले भने, ‘यो देश जोड्ने यात्रा हो, समाज जोड्ने यात्रा हो। जात, धर्म, पहाड, मधेस वा वर्गका नाममा देशमा कुनै पनि द्वन्द्व नहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ।’

यात्राका क्रममा मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी तथा युवालगायत सबै वर्ग र समुदायका नागरिकका समस्या सुनिनेछ। विशेषगरी रोजगारी, जनजीविका र स्थानीय तहमा रहेका समस्यालाई प्राथमिकताका साथ संकलन गरिने उनको भनाइ छ।

संकलित समस्या र सुझावलाई तीन प्रति तयार पारिने सिंहले जानकारी दिए। एउटा प्रति रास्वपा सभापति रवि लामिछानेलाई, अर्को प्रधानमन्त्रीलाई बुझाउने र तेस्रो प्रति आफूले राखी संसद्मा प्रस्तुत गर्ने उनले बताए।

शुभारम्भ कार्यक्रममा बोल्दै सभापति लामिछानेले पदयात्रा दलीय राजनीतिभन्दा माथि उठेर मुलुकमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने गरी सम्पन्न गर्न आग्रह गरे। उनले यस यात्राले देशका सम्पूर्ण जातजाति, भाषा र संस्कृतिलाई एउटै सूत्रमा जोड्ने सकारात्मक सन्देश दिन सकोस् भन्दै शुभकामना व्यक्त गरे।

सिंह सर्लाही क्षेत्र नम्बर–४ बाट निर्वाचित संघीय सांसद हुन्। यसअघि उनले मधेशलाई जात, धर्म र राजनीतिक स्वार्थका नाममा द्वन्द्वको मैदान बनाउन नहुने अभिव्यक्ति दिएका थिए र आफ्नो अभियानलाई समाज जोड्ने तथा मधेशको आर्थिक–सामाजिक विकासका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउने प्रयासका रूपमा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्