Saturday, २८ November २०२६
ब्रेकिङ
जनकपुरधाम–अयोध्या सरयू–कमला एक्सप्रेसको टिकट बुकिङ खुल्यो, स्लिपरदेखि एसी द्वितीय श्रेणीसम्मको भाडा सार्वजनिकट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध नफैलाउन आग्रहसुनचाँदीको मूल्य बढ्योस्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउहिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी
अन्तर्राष्ट्रिय

स्वास्थ्य बिमा ऐन संशोधन गरी उपचार कार्यक्रम एकीकृत गर्ने सरकारको तयारी

तस्बिर : एआई

काठमाडौं — सरकारले विभिन्न सरकारी निकायमार्फत सञ्चालित स्वास्थ्य उपचार कार्यक्रमहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत एकीकृत गर्ने तयारी गरेको छ। स्वास्थ्य बिमा ऐन संशोधनमार्फत दोहोरो सुविधा हटाउने र सबै नागरिकलाई बिमाको दायरामा ल्याउने लक्ष्य राखिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलका अनुसार विभिन्न निकायले आआफ्नै ढङ्गले उपचार सुविधा उपलब्ध गराउँदा राज्यको स्रोतमा दोहोरोपन देखिएको छ। उनले कतिपय आधारभूत स्वास्थ्य सेवाका लागि मन्त्रालयले छुट्टै बजेट उपलब्ध गराउने र सोही सेवाबापत स्वास्थ्य संस्थाले बिमा बोर्डमा समेत दाबी गर्ने अवस्था रहेको बताए।

‘विभिन्न निकायमार्फत स्वास्थ्य कार्यक्रम सञ्चालन हुँदा राज्यको स्रोतमा दोहोरोपन देखिएको छ,’ डा. प्याकुरेलले भने, ‘आधारभूत स्वास्थ्य सेवाका कतिपय विषय बिमाले पनि समेट्दा एकातिर मन्त्रालयले बजेट पठाउने र अर्कोतिर अस्पतालले बिमा बोर्डमा पनि दाबी गर्ने अवस्था छ।’

प्रस्तावित संशोधनमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष तथा मन्त्रालयअन्तर्गतका एकै प्रकृतिका मिल्दाजुल्दा स्वास्थ्य कार्यक्रमलाई एउटै प्रणालीमा समेट्ने विषयलाई प्राथमिकता दिइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयले बिमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल गर्दै आएको छ।

विद्यमान ऐनले प्रतिव्यक्ति तीन हजार पाँच सय रुपियाँ योगदान र एक लाख रुपियाँसम्मको उपचार सुविधा निर्धारण गरेको छ। डा. प्याकुरेलका अनुसार यसले आवश्यकता अनुसार फरक फरक बिमा योजना सञ्चालन गर्न बोर्डलाई कठिनाइ भइरहेको छ।

संशोधन प्रस्तावले सबै नागरिकलाई बिमामा आबद्ध गर्ने, लक्षित समूहलाई विशेष सुविधा दिने र योगदान गर्न नसक्ने नागरिकको उपचार जिम्मेवारी राज्यले लिने व्यवस्था समेटेको छ। यसअघि स्वास्थ्य मन्त्रालयले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर गरी आठ जटिल रोगका बिरामीलाई दुई लाख रुपियाँसम्म उपचार सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ।

मन्त्रालयले स्वास्थ्य बिमा कोषको आयस्रोत बढाउने नीतिगत निर्णय पनि अघि बढाएको छ। संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा पठाउने निर्णय भइसकेको छ भने प्रगतिशील करमार्फत कोषमा जाने रकम बढाउने घोषणा गरिएको छ।

सरकारले वितरण गर्ने उपचार सहायतासमेत स्वास्थ्य बिमा कार्यक्रममार्फत उपलब्ध गराउने तयारी गरेको छ। यसबाट धेरै नागरिक बिमामा आबद्ध हुने र कोषको दिगोपनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ट्याग: #स्वास्थ्य

प्रतिक्रिया दिनुहोस्