जनकपुरधाम — नेपालको जनकपुरधाम र भारतको अयोध्या जोड्ने सरयू–कमला साप्ताहिक एक्सप्रेस (ट्रेन नम्बर १५५९५/१५५९६) को टिकट बुकिङ खुलेको छ। भारतीय रेलवेले चार श्रेणीको भाडादर सार्वजनिक गर्दै बिहीबारदेखि जनकपुरधाम स्टेशन र अनलाइन दुवै माध्यमबाट टिकट बिक्री सुरु गरेको हो।
भारतीय रेलवेले तोकेको भाडादरअनुसार स्लिपर श्रेणीको भाडा ३६५ भारतीय रुपैयाँ रहेको छ। एसी थ्री टियर इकोनोमीको ८८५, एसी थ्री टियरको ९६५ र एसी टु टियरको १,३६० भारतीय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
यो रेल सेवा प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ। अयोध्या क्यान्टबाट भने प्रत्येक सोमबार साँझ ५:५० बजे जनकपुरधामतर्फ फर्किने तालिका छ ।
जनकपुरधामबाट हिँडेको रेल अर्को दिन बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। अयोध्याबाट फर्किने रेल भने अर्को दिन दिउँसो १२:४० बजे जनकपुरधाम पुग्नेछ ।
कुल १७ वटा डिब्बा रहेको यो रेलमा दुईवटा एसी टु टियर, तीनवटा एसी थ्री टियर, तीनवटा एसी थ्री टियर इकोनोमी, सातवटा स्लिपर क्लास र दुईवटा एसएलआर डिब्बा छन् । रेलमा साधारण (जनरल) डिब्बा राखिएको छैन र प्रत्येक यात्रुका लागि आरक्षित बर्थ अनिवार्य गरिएको छ।
यो रेलमा नेपाल र भारतका नागरिकले मात्र यात्रा गर्न पाउनेछन्। आरक्षणका क्रममा यात्रुको पहिचान र राष्ट्रियताको विवरण दर्ता गर्नुपर्नेछ भने यात्राका क्रममा जयनगरमा टिकटमा उल्लेखित परिचयपत्रसँग मिलान गरिनेछ ।
नेपाली नागरिकका लागि नागरिकता वा राहदानी र भारतीय नागरिकका लागि राहदानी वा मतदाता परिचयपत्र मान्य हुनेछ। १५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका हकमा भने आधारकार्ड पनि मान्य हुने जनाइएको छ ।
यस रेलमा तत्काल, प्रिमियम तत्काल, आरएसी वा अन्य विशेष कोटा उपलब्ध छैन। यात्रुले अधिकतम ६० दिनअघि सम्म आरक्षण गर्न सक्नेछन्। कुल आरक्षित सिटमध्ये ७० प्रतिशत एन्ड–टु–एन्ड कोटा र ३० प्रतिशत रोडसाइड (मध्यवर्ती स्टेशनका लागि) कोटा निर्धारण गरिएको छ ।
भारतका यात्रुले अनलाइन वा देशभरका कुनै पनि पीआरएस काउन्टरबाट टिकट बुक गर्न सक्नेछन्। नेपालका यात्रुले भने आईआरसीटीसीको वेबसाइट, मोबाइल एप, अधिकृत अनलाइन टिकटिङ एजेन्ट वा नेपालमा रहेका अधिकृत सेवा एजेन्टमार्फत टिकट बुक गर्न सक्नेछन् ।
यो रेल सेवा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको हुन्। जनकपुरधाम–अयोध्या रेल सेवाले रामायणसँग सम्बन्धित दुई प्रमुख धार्मिक गन्तव्यबीच सिधा रेल सम्पर्क स्थापित गरेको छ ।
बुकिङ खुलेको पहिलो दिन नै २८ नोभेम्बरका लागि १०५ भन्दा बढी टिकट बुक भइसकेको भारतीय रेलवेले जनाएको छ। अन्य मितिका लागि पनि बुकिङ जारी छ ।
