Saturday, २८ November २०२६
ब्रेकिङ
जनकपुरधाम–अयोध्या सरयू–कमला एक्सप्रेसको टिकट बुकिङ खुल्यो, स्लिपरदेखि एसी द्वितीय श्रेणीसम्मको भाडा सार्वजनिकट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध नफैलाउन आग्रहसुनचाँदीको मूल्य बढ्योस्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउहिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी
Auto

राराब क्याम्पसको २० करोड शुल्क घोटाला प्रकरण : फाइल पुग्यो अख्तियार

जनकपुर। जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसको विद्यार्थी शुल्क घोटालासम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ। त्रिभुवन विश्वविद्यालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा २० करोड रुपैयाँभन्दा बढी रकम अनियमितता भएको देखिएपछि थप अनुसन्धानका लागि सो फाइल अख्तियारमा पठाइएको हो।

त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार क्याम्पसले आफैं छानबिन गरे पनि शुल्कमा ठूलो रकम अनियमितता भएको देखिएकाले अख्तियारले नै थप अनुसन्धान गर्नुपर्ने भएकाले प्रतिवेदन हस्तान्तरण गरिएको हो । अख्तियारले क्याम्पस प्रमुख वसन्त कर्णसहित अन्य कर्मचारीसँग बयान लिइसकेको छ ।

त्रिविले यस प्रकरणमा तीन पटक छानबिन समिति गठन गरेको थियो। पहिलो समितिले करिब ९७ हजार रुपैयाँ मात्र अनियमितता भएको आशयसहितको प्रतिवेदन बुझाएको थियो ।

दोस्रो समितिले भने ६ करोड २४ लाख रुपैयाँ अनियमितता भएको र १४ करोड बराबरको रसिद फेला नपरेको विवरणसहितको प्रतिवेदन तयार पारेको थियो । उक्त समिति २०८३ वैशाख ६ गते राराब क्याम्पस पुगेर ७५ दिन लगाएर प्रतिवेदन तयार पारेको थियो ।

दोस्रो समितिले प्रतिवेदन बुझाउँदै गर्दा करिब १९ करोड रुपैयाँ अनियमितता भएको दाबीसहित अख्तियारमा पनि उजुरी परेको थियो । त्यसपछि त्रिविले तेस्रो पटक छानबिन समिति बनाएको थियो भने सो समितिले पनि केही साताअघि मात्रै त्रिविलाई प्रतिवेदन बुझाएको थियो ।

छानबिन प्रतिवेदनमा व्यापकरुपमा विगत लामो समयदेखि निरन्तररुपमा कुनै कानुनको डर नमानी विद्यार्थीहरूलाई बैंकमा रकम जम्मा गर्नमा समेत निरुत्साहित गरी नगद बुझिलिने र सो बुझिएको रकममा जालसाजी भएको उल्लेख छ । प्रतिवेदनमा सरकारी कागजातको दुरुपयोग गरी रसिद काट्दा पहिलो र दोस्रो पानमा फरकफरक रकम उल्लेख गर्ने र आफूलाई इच्छा लागे जति रकम अपचलन गर्ने गरेको पनि औंल्याइएको छ ।

त्रिविका अनुसार विद्यार्थीबाट उठाएको शुल्क विगत पाँच वर्षदेखि दुरुपयोग गरिएको आशंका छ । क्याम्पसमा करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

घोटालासम्बन्धी विषय बाहिरिएपछि राराब क्याम्पसका कर्मचारी सञ्जय दासको नेतृत्वको टोलीले २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको आरोप छ । उक्त आगजनीमा आर्थिक कागजात तथा रसिदहरू जलेर नष्ट भएको आशंका गरिएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले घोटालामा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने बताएका छन्। उनले भने, ‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ। प्रतिवेदनअनुसार दोषीलाई त्रिवि र प्रचलित कानुनअनुसार कारबाही गर्छौं।’

उपकुलपति थापाले राराबमा मात्र नभई अन्य क्याम्पसमा पनि शुल्क संकलन र आर्थिक कारोबारको अवस्था खोतल्न थालिएको जानकारी दिएका छन्। उनले भने, ‘राराबमा मात्र होइन, अन्य ठाउँमा पनि खोजी गरिरहेका छौँ। हाम्रो एजेन्डा नै त्रिविमा सुशासन कायम गर्ने हो। बेथितिका फाइल खोल्न सुरु भएको छ।’

अख्तियारले थप अनुसन्धान अघि बढाएको यस प्रकरणमा त्रिविको नियमले आर्थिक अनियमिततामा संलग्न कर्मचारीमाथि बर्खास्तीसम्मको कारबाही गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्