काठमाडौँ, कात्तिक २९ गते । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डले नयाँ व्यवस्था लागू गर्दै स्वास्थ्य बीमामा आबद्ध परिवारका प्रत्येक सदस्यको केवाईसी विवरण अद्यावधिक गरेपछि मात्र बीमा नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।
बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलले अब स्वास्थ्य बीमा नवीकरण गर्न चाहने बीमितले बोर्डको आधिकारिक एचआईबी ई–पोर्टलमा प्रवेश गरी आफ्नो पुरानो बीमा विवरण हेर्नुपर्ने जानकारी दिनुभयो । त्यसपछि परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गरेर मात्र नवीकरण प्रक्रिया अघि बढाउन सकिने उहाँले बताउनुभयो ।
अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन केवाईसी अद्यावधिक गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले बैंक खातामा जस्तै स्वास्थ्य बीमा नवीकरण गर्दा पनि व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
डा. प्याकुरेलका अनुसार यसअघि स्वास्थ्य बीमाको विवरण अद्यावधिक गर्न दर्ता सहयोगीको सहायता लिनुपर्ने अवस्था रहेकामा अब बीमित आफैँले अनलाइनमार्फत आफ्नो र परिवारका सदस्यको विवरण अद्यावधिक गर्न सक्नेछन् ।
हाल स्वास्थ्य बीमामा एक करोड नौ लाख व्यक्ति आबद्ध रहेको र तीमध्ये ७६ लाख जनाले नवीकरण गरेका छन् । बीमामा आबद्धमध्ये करिब साढे १३ लाख ज्येष्ठ नागरिक रहेको उल्लेख गर्दै उहाँले कतिपय बीमितको मृत्यु भइसकेको हुन सक्ने तर विवरण अद्यावधिक नहुँदा वास्तविक अवस्था पहिचान गर्न कठिनाइ भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “केवाईसी अद्यावधिक भएपछि बीमितको वास्तविक पहिचान गर्न सहज हुन्छ । कतिपयको मृत्यु भइसकेको हुन सक्छ तर विवरण स्पष्ट नहुँदा त्यस्ता व्यक्तिको अवस्था पहिचान गर्न कठिनाइ भइरहेको छ ।”
उहाँले केवाईसी विवरणलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने भएकाले बीमितको पहिचान र विवरण प्रमाणीकरणमा थप सहज हुने बताउनुभयो । यसबाट एउटै व्यक्तिको दोहोरो विवरण हटाउन तथा स्वास्थ्य बीमाको अभिलेखलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
अध्यक्ष प्याकुरेलले राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा सुविधामा वास्तविक लाभग्राहीको पहिचान आवश्यक भएजस्तै स्वास्थ्य बीमामा पनि आधिकारिक बीमितको पहिचान सुनिश्चित गर्न केवाईसी अद्यावधिक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
