काठमाडौँ, कात्तिक २९ गते । स्थानीय उत्पादन बढेसँगै केरामा नेपाल आत्मनिर्भर भएको छ । सरकारले एक वर्षअघि केरा आयातमा कडाइ गरेपछि व्यावसायिक केरा खेती विस्तार भएसँगै नेपालकै उत्पादन पर्याप्त हुन थालेको हो ।
आयातमा कडाइ गरेपछि किसानहरू व्यावसायिक केरा खेतीमा आकर्षित हुँदा उत्पादन बढेको नेपाल केरा उत्पादक महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले वार्षिक नौ लाख मेट्रिक टन केरा उत्पादन भएसँगै नेपाल आत्मनिर्भर भएको जानकारी दिनुभयो । “विगतका वर्ष दुई लाख मेट्रिक टन केरा अपुग भई बाहिरी मुलुकबाट आयात हुने गरेको थियो” उहाँले भन्नुभयो, “सरकारले आयातमा कडाइ गरेपछि नेपालभित्रै उत्पादन बढेपछि बजारका लागि पर्याप्त भएको छ ।” उहाँका अनुसार अहिले बजारमा सहजै रूपमा केराको आपूर्ति भइरहेको छ ।
सरकारले २०८२ असोज ६ गतेदेखि केराको आयातमा कडाइ गरेको थियो । आयातमा कडाइ गरेपछि केही समय प्रतिदर्जन तीन सय रुपियाँसम्म पुगेको केरा अहिले उत्पादन बढेसँगै मूल्य पनि घटेको छ ।
अध्यक्ष पन्तका अनुसार विगतका वर्ष बाहिरी मुलुकबाट सस्तो मूल्यमा केरा आयात हुँदा स्थानीय केराले मूल्य नपाएर कुहिएर जाने गरेकोमा यो वर्ष किसानले दर्जनमा ५० देखि ६० रुपियाँ मूल्य पाएका छन् । त्यस्तै विगतमा किसानले दुई सयदेखि तीन सय रुपियाँमा एक घरी केरा बेच्ने गरेकोमा अहिले छ रुपियाँसम्म बिक्री गरेका छन् ।
उत्पादन बढेसँगै दसैँ, तिहार, छठमा स्वदेशी केराले नै बजार माग धानेको महासङ्घले जनाएको छ । केराको उत्पादन बढाएर आगामी दुई वर्षभित्रमा निर्यात गर्ने अवस्थामा पुग्ने अध्यक्ष पन्तको भनाइ छ ।
महासङ्घका अनुसार मुलुकभर १५ हजार हेक्टर क्षेत्रफलमा केरा खेती हुन्छ । पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्म केरा खेती हुने गरेकोमा चितवन, नवलपरासी, बारा, पर्सा, दाङ र कन्चनपुरमा सबैभन्दा धेरै व्यावसायिक रूपमा केरा खेती हुने गरेको छ ।
