काठमाडौं । बलियो पासवर्ड र मल्टि-फ्याक्टर अथेन्टिकेसन जस्ता सुरक्षाका सबै उपाय अपनाउँदा पनि दर्जनौं डिभाइसमा आफ्नो गुगल अकाउन्ट लग-इन भएको देख्दा जो कोहीलाई पनि डर लाग्नु स्वाभाविक हो । तर गुगलको एउटा सेटिङको सहायतले तपाईंले आफ्नो अकाउन्ट कुन कुन डिभाइसमा लगइन छ भन्ने पत्ता लगाएर त्यसलाई हटाउन पनि सक्नुहुन्छ ।
धेरै डिभाइसमा लगइन भएको देखिनुको अर्थ तपाईंको गुगल अकाउन्ट ह्याक भइसक्यो भन्ने होइन । किनभने कहिलेकाहीँ तपाईंले पुरानो फोन फ्याक्ट्री रिसेट गरी अरु कसैलाई दिनु भएको हुनसक्छ । त्यो डिभाइसमा अकाउन्ट लगइन नभए पनि गुगल अकाउन्टबाट हेर्दा भने अझै उक्त फोनमा तपाईंको गुगल अकाउन्ट लगइन भइरहेको देखिन सक्छ । यस्तोमा डराउनु पर्दैन । तर, अपरिचित डिभाइस छ भने त्यसलाई तुरुन्तै हटाउन सक्नुहुन्छ ।
किन देखिन्छन् यति धेरै डिभाइस ?
हामीमध्ये धेरैले समयसँगै नयाँ-नयाँ एन्ड्रोइड फोन, आईफोन, ट्याब्लेट र स्मार्ट टिभी फेरिरहन्छौँ । हरेक नयाँ डिभाइसमा गुगल अकाउन्ट लग-इन गरिन्छ । जब पुरानो डिभाइस बेचिन्छ वा घरको दराजमा थन्क्याइन्छ, धेरैले डेटा मेटाउन फोनलाई ‘फ्याक्ट्री रिसेट’ गर्छन् ।
तर, मुख्य समस्या के हो भने फोन फ्याक्ट्री रिसेट गरेर बेचिसकेपछि वा थन्क्याएपछि पनि गुगलको सूचीबाट त्यो डिभाइस आफैँ हट्दैन । गुगलले ती पुराना डिभाइसलाई अझै ‘साइन-इन’ भएको वा सयौँ दिनदेखि नचलाइएको अवस्थामा देखाइरहन्छ ।
गुगल अकाउन्ट जाँच गर्ने र सुरक्षित राख्ने तरिका
सबैभन्दा पहिले आफ्ना डिभाइसको सूची हेर्नुहोस् । त्यसका लागि तल दिइएको तरिका अपनाउन सक्नुहुन्छ ।
- सबैभन्दा पहिले गुगल एपमा जानुहोस् ।
- अनि त्यहाँ देखिएको आफ्नो प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

- र, ‘मेनेज योर गुगल अकाउन्ट’ (Manage your google account) को अप्सनमा ट्याप गर्नुहोस् ।

- अनि ‘सेक्युरिटी एन्ड साइन इन’ (Security & sign-in) मा जानुहोस् ।

- तल स्क्रोल गरेर ‘Your devices’ मा जानुहोस् र ‘Manage all devices’ मा क्लिक गर्नुहोस् ।
पछिल्लो एक महिनाको लग-इन पहिले जाँच्नुहोस्
सूची लामो छ भने आत्तिनु पर्दैन । सबैभन्दा पहिले पछिल्लो एक महिनाभित्र अकाउन्ट चलाइएका डिभाइस हेर्नुहोस् ।
- गुगलले कहिलेकाहीँ डिभाइसको सिधा नाम (जस्तै: Galaxy S22) देखाउँछ, जसले चिन्न सजिलो हुन्छ ।
- कहिलेकाहीँ भने नबुझिने कोड नाम देखिन्छ । जस्तै: ‘SM-A255F’ लेखिएको डिभाइस हुन सक्छ । यस्तो नबुझिने कोड देखिएमा एकपटक गुगलमा सर्च गरेर यकिन गर्नुहोस् ।
निष्क्रिय ‘घोस्ट’ डिभाइस पहिचान गर्नुहोस्
पुरानो फोन रिसेट गरिसक्दा पनि गुगलले नहटाउने यस्ता डिभाइसलाई घोस्ट डिभाइस भनिन्छ । त्यस्ता घोस्ट डिभाइसबाट कुनै जोखिम हुँदैन । तर, ती डिभाइसलाई हटाउनु नै राम्रो हुन्छ ।
शंकास्पद डिभाइस तुरुन्त साइन-आउट गरी पासवर्ड फेर्नुहोस्
यदि सूचीमा कुनै डिभाइस अपरिचित लाग्यो वा रिसेट गर्न बिर्सिएको जस्तो लाग्यो भने:
- उक्त डिभाइसमा क्लिक गर्नुहोस् र अर्को स्क्रिनमा देखिने ‘Sign out’ बटन थिच्नुहोस् ।
- त्यसपछि ‘This will remove access to your Google Account from the device’ (यसले उक्त डिभाइसबाट तपाईंको गुगल अकाउन्टको पहुँच हटाउनेछ) भन्ने सूचना आउँछ ।
- साइन-आउट गरेपछि त्यो डिभाइसबाट अकाउन्ट हट्छ । फेरि चलाउनुपरेमा पासवर्ड र मल्टि-फ्याक्टर अथेन्टिकेसन पूरा गर्नुपर्ने हुन्छ ।
- शंकास्पद डिभाइस हटाइसकेपछि सुरक्षाका लागि तुरुन्तै पासवर्ड परिवर्तन गर्नुहोस् ।
सबै डिभाइस एकैपटक लग-आउट गर्ने गल्ती नगर्नुहोस्
नहेरीकन एकमुष्ट रूपमा सबै डिभाइस साइन-आउट नगर्नुहोस् । आजभोलि कामका विभिन्न एपमा लग-इन गर्न र घरका स्मार्ट डिभाइस (जस्तै: YouTube वा YouTube TV) चलाउन गुगल अकाउन्ट जोडिएको हुन्छ ।
यदि तपाईंले अन्धाधुन्ध सबै डिभाइस लग-आउट गर्नुभयो भने घरका स्मार्ट टिभी र कामका एपमा फेरि सुरुदेखि लग-इन र भेरिफाइ गर्नुपर्ने झन्झट आइपर्छ । त्यसैले शंका लागेका डिभाइस मात्र हटाउनु बुद्धिमानी हुन्छ ।
फोन रिसेट गर्नुअघि गुगल अकाउन्ट हटाउन नबिर्सनुहोस्
गुगलले फ्याक्ट्री रिसेट गरिएका डिभाइसलाई सूचीबाट आफैँ हटाउन सके राम्रो हुन्थ्यो । तर अहिलेको प्रणालीमा यो समस्या कायमै छ । त्यसैले भविष्यमा यस्ता घोस्ट डिभाइस जम्मा हुन नदिन एउटा सजिलो बानी बसाल्नुहोस् । त्यसका लागि कुनै पनि फोन वा डिभाइस फ्याक्ट्री रिसेट गर्नुभन्दा पहिले, डिभाइसको सेटिङमा गएर आफ्नो गुगल अकाउन्ट म्यानुअल्ली हटाउनुहोस् । यसो गर्दा गुगलले पुराना र बेचिएका डिभाइसलाई अझै लग-इन नै रहेको ठान्ने समस्या आउँदैन ।
