काठमाडौं। नेपाल भेटेरीनरी एशोसिएशनले गाई हत्यामा संलग्न रहेको दाबी गर्दै नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कार्वाही गर्न माग गरेको छ।
एशोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि ३ वर्षसम्म कैद सजायसमेतको व्यवस्था कानुनमै उल्लेख गरिएको भन्दै सो हत्यामा संलग्न मेयर राणालाई कडा कानुनी कार्वाही गर्न माग गरेका हुन्।
सोमबार काठमाडौंमा काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सुर्खेतमा गरिएको सो गाई हत्यामा संलग्न अन्यको पनि पहिचान गरी कडा कार्वाही गर्न सरकारसँग माग गरे। अध्यक्ष श्रेष्ठले सो घटनामा संलग्नमाथि तत्काल कार्वाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए।
त्यसैगरी एशोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै सो हत्यामा संलग्नमाथि पनि तत्काल कार्वाही गर्न सरकारसँग माग गरेको छ।
नेपाल विश्व पशु स्वास्थ्य संगठनको पनि सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपीट गर्न समेत नपाउने एशोसिएशनको तर्क छ।





















